रोङ, २७
रोङ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण सम्पन्न, करिब ६३५ प्रश्नको तथ्यांक संकलन ।
इलामको रोङ गाउँपालिकाले गाउँपालिकाको समग्र वस्तुस्थिति समेट्ने ‘डिजिटल प्रोफाइल’ निर्माणको अन्तिम अन्तरक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रसँग सम्बन्धित तथ्यांकलाई डिजिटल प्लेटफर्ममार्फत संकलन, विश्लेषण र व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यमा रोङका ५८ वटै टोल विकास संस्थाबाट १/१ जना सर्वेक्षक नियुक्त गरी तथ्यांक संकलन गरिएको छ। कार्यक्रममा ६३५ वटा प्रश्नमा आधारित तथ्यांक संकलन तथा विश्लेषणको अन्तरकृया सम्पन्न भएको जनाइएको छ।
डिजिटल प्रोफाइलमा गाउँपालिकाको समग्र वस्तुस्थिति समेटिएकाले आगामी दिनमा नीति, नियम तथा योजना निर्माण गर्न र स्थानीय तहको व्यवस्थापकीय कार्यसम्पादनलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संकलित तथ्यांकलाई अद्यावधिक र विश्वसनीय बनाइराख्न टोल विकास संस्थालाई नयाँ तथ्यांक प्रविष्ट तथा अद्यावधिक गर्न सक्ने पहुँच प्रदान गर्ने योजना रहेको छ। टोलबाट प्रविष्ट गरिएका तथ्यांक सम्बन्धित वडाले प्रमाणीकरण गर्ने र गाउँपालिकाले स्वीकृत गरेपछि मात्र अन्तिम रूपमा अभिलेखमा समावेश हुने व्यवस्था मिलाइने बताइएको छ।
यस प्रक्रियाबाट रोङ गाउँपालिकाको वस्तुस्थितिलाई वास्तविक समयमै डिजिटल माध्यमबाट हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो। स्थानीय तहका योजना तथा कार्यक्रमलाई तथ्यांकमा आधारित बनाउन, आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न, स्रोतसाधनको उचित परिचालन गर्न तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन डिजिटल प्रोफाइल उपयोगी हुने अपेक्षा गरिएको छ।



