गजेन्द्र कुमार शेर्मा
झापा, ७ भदौ
नेपालको अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स दमक शाखाले आफ्नो स्थापनाको सफलताका नौ वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको सुखद अवसरलाई विशेष र अर्थपूर्ण रूपमा मनाएको छ। दमक–४ झापामा स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रममा आयोजित एक हार्दिक तथा समवेदनशील समारोहका बीच कम्पनीले ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, प्रदीर्घ जीवन र कल्याणको उच्च कामना गर्दै खाद्यान्न वितरण गरी आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको छ।
भदौ १ गते आयोजित उक्त आत्मीय कार्यक्रममा वृद्धाश्रममा आश्रित आमाबुबाहरूको दैनिक पोषणलाई ध्यानमा राख्दै २५ किलोका ५ बोरा चामल, दाल, अण्डा लगायतका अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू संस्थागत रूपमा हस्तान्तरण गरियो। असहाय र पूजनीय ज्येष्ठ नागरिकहरूको ओठमा मुस्कान ल्याउने उद्देश्यले आयोजना गरिएको यो पुण्य कार्यले उपस्थित सबैको मन छोएको थियो।
उक्त गरिमामय सेवा कार्यक्रममा कोशी प्रदेश उपप्रमुख महेन्द्र तिमिल्सिना, आइएमई लाइफ इन्स्योरेन्स दमक शाखा प्रमुख निङ्मा शेर्पा, सिनियर एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजरका साथै दमक शाखामा आबद्ध सम्पूर्ण एजेन्सी म्यानेजर तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक र सहृदय उपस्थिति रहेको थियो।
वृद्धाश्रमको परोपकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएलगत्तै दमकस्थित शाखा कार्यालयको भव्य सभाहलमा अर्को खुसीयाली समारोह आयोजना गरियो। सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको उत्साहजनक सहभागितामा केक काटेर हर्षोल्लासका साथ संस्थाको नवौँ वार्षिकोत्सव मनाइयो। सो अवसरमा दमक शाखाको प्रगति, भावी रणनीति र बीमा साक्षरतालाई गाउँ–गाउँसम्म पुर्याउने सङ्कल्पका साथ एकापसमा हार्दिक शुभकामना आदानप्रदान गरिएको थियो।
२०८४ भदौ १ गतेदेखि व्यावसायिक बीमा सेवाको सुखद यात्रा प्रारम्भ गरेको आइएमई लाइफ इन्स्योरेन्सले ग्राहकको अगाध विश्वास, उत्कृष्ट वित्तीय अनुशासन र प्रभावकारी सेवाका कारण आज नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। सफलताका नौ वर्ष सफलतापूर्वक पार गर्दै दशौ वर्षको यो स्वर्णिम मोडमा आइपुग्दा कम्पनीले आगामी दिनहरूमा अझ बढी प्रविधिमैत्री, भरपर्दो र जनमुखी बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नाफा मात्र नभई समाजका हरेक वर्ग र क्षेत्रको हितका लागि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई अझ सशक्त रूपमा निरन्तरता दिने दमक शाखाले जनाएको छ।



