बिर्तामोड, ३० पुस
नेपाल मगर संघ झापाको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ झापाको व्यवस्थापनमा “मगरात सभ्यता सहितको समृद्ध समाज” भन्ने मूल नारासहित मगर जातिको महान पर्व माघे सकराती तथा मिनाम ल्हेस–५०१९ (नयाँ वर्ष) बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल मगर संघ बिर्तामोड नगर समितिका अध्यक्ष कर्ण सारु मगरको अध्यक्षता तथा निर्वतमान उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कोशी प्रदेश सभासद् कमला मगर कार्यक्रमकी विशिष्ट अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि इन्दिरा राना मगरले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कमला मगर, नेपाल मगर संघका पूर्व प्रदेश सचिव शिवम सोराली मगर, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दीपेन्द्र चौधरी, नेपाल मगर संघ झापा जिल्ला अध्यक्ष विकास थापा मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
मन्तव्यका क्रममा प्रमुख अतिथि राना मगरले ‘जेन–जी’ आन्दोलनले युवाहरूमा चेतना र परिवर्तनको भावना ल्याएको उल्लेख गर्दै नयाँ सोच र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, सभासद् कमला मगरले माघे सकराती जस्ता पर्वलाई संस्कारका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मगर समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने निराज मगर, मेनुका मगर, चन्द्र राना मगर, प्रिति राना मगर, रमेश मगर, अश्मी मगर, स्मृति मगरलगायत विशिष्ट व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, मगर राष्ट्रिय गान र बौद्ध परम्पराअनुसार १०८ दीप प्रज्वलनसमेत गरिएको थियो। आयोजकको तर्फबाट प्रमुख अतिथि इन्दिरा राना मगरलाई सम्मानपत्र प्रदान गरिएको थियो, जसको वाचन सचिव प्रभास थापा मगरले गर्नुभएको थियो।
सोही अवसरमा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले आगामी वर्षदेखि सम्पूर्ण जनजातिले संयुक्त रूपमा जातीय पर्वहरू सामूहिक रूपमा आयोजना गर्ने निर्णय भएमा आफू व्यवस्थापन पक्षमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मगर जातिको मौलिक परिकार तरुल, सेलरोटी, तिलको लड्डु, गुन्द्रुक–भटमासको अचारलगायत खाद्य सामग्री उपस्थितलाई निःशुल्क वितरण गरिएको थियो। अध्यक्ष कर्ण सारु मगरले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ उत्साहपूर्वक कार्यक्रम आयोजना गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा कियाचु नगर अध्यक्ष हिमालय कन्दङ्वा, नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङ, गीतकार शिवशंकर थापा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ, समाजसेवी सुन्दर क्याप्छाकी मगर, गुरुङ परिषद्का अध्यक्ष कुमार गुरुङलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
विविध सांस्कृतिक गायन तथा नृत्य प्रस्तुतिसहित सम्पन्न उक्त कार्यक्रममा स्वागत नेपाल मगर संघ बिर्तामोडकी उपाध्यक्ष सुनिता लुङ्गेली मगरले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन देबिट थापा मगर र मेनुका गुर्वछान मगरले गर्नुभएको थियो।



