झापा, ११ असोज
झापाली युवाहरूले निर्माण गरेको चलचित्र ” बाबाको बाँसुरी” एउटा टुहुरोको कथा बिर्तामोडको पाथिभरा सिने प्लाजामा असोज ११ गते आइतबारको दिन प्रीमियर शो भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संयोजक पूर्ण सुनारको सभापतित्व र नेपाल चलचित्र निर्माता सङ्घका सचिव युवराज गिरीको प्रमुख आतित्यतामा एक औपचारिक कार्यक्रम सहित चलचित्र प्रदर्शन भएको हो । चलचित्र प्रदर्शनमा नेपालको पुर्व क्षेत्रका चलचित्रकर्मीहरु सुवास मेचे, रोहन सेन्चुरी, प्रताप मेचे, याम खरेल, कैलाश बराइली,अमृत अधिकारी, खेम पण्डे यमुना तिवारी लगायत व्यक्तिहरु सगै साहित्यकार, व्यवसायी, उद्यमी सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पुर्ण सुनारको ब्यानर, कमल लिम्बू(लाहुरे)को कथा/निर्देशन, तिलक रिजालको छायांकन/सम्पादन र शितल खनाल र पुर्ण सुनारको मुख्य भुमिका रहेको चलचित्र “बाबाको बासुरी” नेपालको पुर्वी भुभाग इलाम जिल्लाको प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थानहरु र झापाका विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । झापामै बसेर थोरै लगानीमा पनि एउटा राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने गतिलो उदाहरणको रुपमा लिन सकिने यस चलचित्र बिर्तामोडमा प्रदर्शन सगै झापाको विभिन्न स्थान र भारतको सिक्किममा पनि प्रदर्शन हुने तयारी रहेको चलचित्र निर्माता तथा कलाकार पुर्ण सुनारले जानकारी दिनु भयो । गरिब र धनीको दूरीलाई यथार्थ चित्रण गरिएको यस चलचित्रमा वियोगान्त प्रेम देखाइएको छ ।



